जोनका बुबा आमा को हुन् उनलाई थाहा छैन । उ नी नेपाल भित्रै जन्मिए र काठमाडौं को स्वयम्भू मा रहेको नयाँ ज्योति नामक अनाथालयमा हुर्किए । जव उनले क्याम्पस पढ्ने बेला भयो, तब उनलाई नागरिकताको प्रमाणपत्रको आवश्यकता पर्न थाल्यो ।यसका लागि उनले जिल्ला

प्रशासन कार्यालय, गृह मन्त्रालय धाउने काम गरे पाउन सकेनन् । उनी हुर्किएको संस्थाको नामबाट पनि नागरिकता दिने कुरा पनि भएको थियो तर उनलाई अनाथालयमा राख्ने बेला संस्था पनि दर्ता नभएको र उनको बारेमा प्रहरी रिपोर्ट नबनाएका कारण समस्या भयो । २१ वर्षका उनी हाल काठमाडौं विश्वविद्यालय अन्तर्गत बीबीए चौथो सेमेस्टरमा अध्ययन गरिरहेका छन् । ६ महिनापछि उनको पढाइ सकिन्छ । त्यसपछि जागिर खानका लागि पनि नागरिकता नै चाहिन्छ । कसरी नागरिकता प्राप्त गर्ने भन्ने कुरामा उनी अन्योलमा परेका छन् । शनिवार काठमाडौंमा महिला कानुन र विकास मञ्चले गरेको आगामी संसद् अधिवेशनको सन्दर्भमा नेपालमा नागरिकता ऐन (संसोधन) विधेयक सम्बन्धी सञ्चारकर्मीहरूसँग छलफल कार्यक्रम गरेको थियो । सो अवसरमा बोल्दै जोनले संविधानको धारा १० ले कुनैपनि नेपाली नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन भन्ने व्यवस्था गरेको तर किन नागरिकता पाउन सकिएको छैन भन्दै उनले प्रश्न गरे । २५ वर्षकी कला राई ( नाम परिवर्तित) मनोरञ्जन थिएटरमा काम गर्छिन् ।

उनलाई आफ्नो बाबु को हुन थाहा छैन, आमाको मृत्यु भइसकेको छ । नागरिकता नपाउँदा भोगेको समस्या सुनाउँदा उनका आँखाबाट झन्डै आँशु खसेन् । एउटा सिम कार्ड किन्नदेखि हरेक प्रशासनिक कामका लागि नागरिकता खोजिन्छ, त्यस्तो बेला आफू अनागरिक हुनुको पीडा शब्दमा व्यक्त गर्न नसक्ने उनले बताइन् । उनले भनिन्, ‘दुःख गरेर अलि अलि कमाएको पैसा बैंकमा लगेर राखौँ भनेपनि नागरिकताबिना खाता खुल्दैन । स्थानीय तहमा बल्ल बल्ल जन्म दर्ताको प्रमाणपत्र त बनाएँ तर नागरिकता लिन खोज्दा बाबुको नाम सोध्छन् । के म यो देशको नागरिकता पाउन लायक छैन र ? आमाको नामबाट नागरिकता नपाउँदा धेरै राज्यविहीन भइरहेका छन् ।’बौद्ध रामहिँटीकी बिमला तामाङले भने नागरिकता लिन फरक खालको समस्या भोगिन् ।

सुकुम्बासीको जग्गा जमिन नहुँदा स्थायी ठेगाना नहुने कारण नागरिकताका लागि स्थायी ठेगाना माग्दा समस्या परेको उनको अनुभव छ । उनले भनिन्, ‘नागरिकता बनाउनका लागि स्थायी ठेगाना लिएर आउनुस् भन्ने गरेका छन् । सुकुम्बासीको स्थायी ठेगाना नै कहाँ हुन्छ र ? मेरो परिवारको कुरा गर्ने हो तीन पुस्तादेखि फरक फरक ठाँउमा बसोबास हुँदै आएको छ । स्थायी ठेगाना छुट्याउन लालपुर्जा माग्छन्, सुकुम्बासीले कहाँबाट ल्याउने ?’ उनले नागरिकता सम्बन्धी ऐनमा स्पष्ट व्यवस्था नभएका कारण समस्या परेको उल्लेख गरिन् । ३७ वर्षअघि तुलसा अमात्यले हल्याण्डका नागरिकसँग बिहे गरेकी थिइन् । बिहेपछि पनि उनी सधै नेपाल नै बसिन् । उनले नागरिकता लिन जीवनमा धेरै संघर्ष गर्नुपरेको सुनाइन् ।

जिल्ला प्रशासन कार्यालयले बिदेशी पति भएकोले हल्याण्डमा नागरिकता नलिएको प्रमाण माग्ने र नेपाली नागरिकता दिन नमानेको उनले बताइन् ।बिहेपछि उनका श्रीमान भिसा रकम तिरेर नेपालमै बसेका छन् । उनले आफूले त दुःख पाइन नै नेपालमा जन्मिएका र नेपालमै बस्न चाहने आफ्ना छोराछोरीलाई समेत नागरिकता दिलाउन नसकेको सुनाउँदा उनका आँखाबाट आँशु झरे । उनले केही व्यक्तिले नागरिकता नपाउँदाको पीडाकै कारण आत्महत्या समेत गरेको उल्लेख गरिन् । नागरिकता ऐनमा नागरिकता प्राप्तिका लागि आइपर्ने विभिन्न जटिलताहरुको ख्याल गरी त्यससम्बन्धी कानुनी व्यवस्था नगर्दा माथि प्रस्तुत गरिएका प्रतिनिधिमूलक समस्या धेरैले भोग्नु परेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News