काठमाडौं । ‘निफ्राको आई पीओ २७ बराबर १४२०’ लेखेर शेयर बजार विचार हजार लेखेको ग्रुपमा माघ १६ गते एक व्यक्ति ले स्टाटस पोष्ट गरे ।‘हामीलाई पनि यति कित्ता आईपीओ पर्यो’भन्नेेको त्यो स्टाटसमा कमेन्ट गर्नेहरुको ओइरो लागेको थियो ।२७ जनाको नामबाट आवेदन

दिदा नेपाल इन्फ्रा स्ट्रक्चर बैंक (निफ्रा)को १ हजार ४२० कित्ता आईपीओ परेको भन्ने आशयको उक्त स्टाटस केहिबेरमै डिलिट भयो । आईपीओ बाँडफाँट भएपछि सामाजिक सञ्जालमा यस्ता स्टाटस प्रसस्तै देखिने गरेका छन् । सेयर बजारसम्बन्धी फेसबुक ग्रुपहरुमा यस्ता पोष्ट धेरै देखिन्छन् ।निफ्राले आईपीओ जारी गरेपछि सेयर बजारतर्फ सर्वसाधारणको एक किसिमको लहर छ । २ महिना अघिभन्दा अहिले डिम्याट प्रयोगकर्ता दोब्बर बढेका छन् ।सेयर कारोबारको लेखाजोखा राख्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार डिम्याट प्रयोगकर्ता ३० लाख ४१ लाख ६९८ पुगेका छन् । यतिधेरै डिम्याट प्रयोगकर्ता हुँदा दैनिक चार लाखले पनि कारोबार नगर्नुलाई भने सेयर बजारका जानकारहरु शंङ्कास्पद मान्छन् ।सेयर विश्लेषक प्रकाश तिवारी एकै व्यक्तिले हजार आईपीओ आवेदन दिने गरेको बताउँछन् ।

उनका अनुसार, एकै व्यक्तिले धेरैको नागरिकताको फोटोकपी लिएर धेरैवटा बैंक खाता र डिम्याट खाता खोलेर आईपीओ भर्ने गरिएको छ ।‘११ सयजनाको नाममा भर्ने मान्छे त मैले नै भेटेको छु । ५०, सय, २ सयजनाको नाममा भर्ने त कति छन् कति’, तिवारी भन्छन्, ‘यसरी खोलिएका सबै खातामा एकै व्यक्तिको हस्ताक्षर हुन्छ ।’नेपाल मर्चेन्ट बैंकर एशोसिएसनका अध्यक्ष मेखबहादुर थापा सम्बन्धीत व्यक्तिको स्वीकृतिमै सक्कली नागरिकता ल्याएर कतिपय खाता खोलिने गरेको बताउँछन् ।‘कसैले नजिकका आफन्तको त कसैले ज्येष्ठ नागरिकहरुको पनि नागरिकता ल्याएर बैंकमा खाता खोलेका होलान्’, उनी भन्छन्, ‘यसलाई कसैले हतोत्साहित गरेजस्तो मलाई लाग्दैन । धेरै डिम्याट खुल्दा ठूलो फाइला नहुने भएकाले मर्चेन्ट बैंकहरुले यस्तो कामलाई प्रोत्साहन गदैन ।’

मृतकको नामबाट पनि आवेदन
हुँदा हुँदा मृतकको नामबाट समेत सेयर कारोबार गरिएको पाइएको छ । केहि दिन अघि सेयर नामसारी गर्न आएका एक व्यक्तिको विवरण हेर्दा मृतकले समेत आईपीओ आवेदन दिएको पाइएको नेपाल धितोपत्र बोर्डका एक अधिकारी बताउँछन् ।निधन भएका बुवाको नामको सेयर आफ्नोमा नामसारी गरिदिन भन्दै ती व्यक्ति एक मर्चेन्ट बैंक पुगेका थिए । ‘उनको बुबाले मृत्यु भएको एक महिनापछि पनि आईपीओ भरेको पाइयो’, बोर्डका अधिकारी भन्छन्, ‘मृतकले भरेको आईपीओको वैधानिकतामा प्रश्न उठेको छ ।’संसारमै नभएको व्यक्तिको नाममा परेको आईपीओ के गर्ने भन्ने विषयमा बोर्डले निर्णय लिन सकेको छैन । कानुनी समस्याका कारण निर्णय लिन समय लाग्ने ती अधिकारी बताउँछन् ।

‘अपराधिक काम समेत हुनसक्छ’
गत वर्षको माघ मसान्तसम्म बैंक खाताको संख्या १ करोड ११ लाख १२ हजार १ सय ९४ वटा थियो । बीचमा लामो समय कोरोनाको असर पर्‍यो । तर त्यसयता बैंक खाता बढ्ने क्रम नरोकिएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । उनका अनुसार गत माघ मसान्तसम्म २ करोड ४६ लाख ७१ हजार ९ सय ४९ बैंक खाता पुगेका छन् ।बैंक खाता बढ्नु नराम्रो होइन, तर कुनै एक व्यक्तिले सेयर भर्नकै लागि धेरै व्यक्तिको खाता चलाउँछ भने गैर-कानुनी हुने उनले बताए । यो विषयमा सम्बन्धित बैंक आफैं धेरै चनाखो हुनुपर्ने बताउँदै डा. भट्ट भन्छन्, ‘कुनै व्यक्तिले अरुको नाममा बैंक खाता खोलेको छ भन्ने कुरा सुपरिवेक्षणको क्रममा भेट्टाइयो भने कारबाही हुन्छ ।’

उनका अनुसार, आईपीओ आवेदनका लागिमात्र बैंक खाता खोल्नु पनि गैरकानुनी हो । त्यस्तोमा अपराधिक क्रियाकलापसमेत हुन सक्ने, सोझो नागरिक फस्ने उनी बताउँछन् ।‘अरुको नामको खातामा भ्रष्टाचार गरेको रकम, गैरकानुनी आर्जन राख्ने हुनसक्छ’ प्रवक्ता डा. भट्टले भने, ‘यस्ता क्रियाकलापमा वित्तीय साक्षरताको कमी भएका नागरिक फस्ने खतरा हुन्छ ।’पुँजी बजार क्षेत्रको नियामनकारी निकाय नेपाल धितोपत्र बोर्ड यो विषयमा जानकार नै छ । बोर्डका कार्यकारी निर्देशक निरज गिरी यसरी आईपीओ आवेदन दिनेहरु छैनन् भन्न नसकिने बताउँछन् ।‘बैंक खातामा लिंक भएर आईपीओ आवेदन दिनु पर्ने भएकाले यस्ता डिम्याट खाता होलान्, तर त्यति धेरै छैनन्,’ उनी भन्छन्, ‘एकै व्यक्तिले धेरै जनाको डिम्याट खोलेर आईपीओ आवेदन दिनु चाही सरासर गलत हो ।’

कसरी गर्न सकिन्छ निरुत्साहन ?
अरुको नाममा बैंक र डिम्याट खाता खोलेर गैरकानुनीरुपमा आईपीओ भर्नेको संख्या करिब ५० प्रतिशत रहेको सेयर विश्लेषक प्रकाश तिवारीको दाबी छ । सम्बन्धित व्यक्ति वा निजको एकाघरका बाहेक अरुले भर्न नपाउने हो भने यो समस्या हट्ने उनी बताउँछन् ।आईपीओ भर्नकै लागि खोलिने बैंक खाताहरु अरु बेला निष्कृय हुन्छन् । ती खाताबाट आईपीओ भर्दाखेरी पैसा रोक्का हुने र आईपीओ नपर्दा पैसा काटिने बाहेक अरु कारोबार हुँदैनन् ।

आईपीओ प्रयोजनका लागिमात्र सञ्चालन हुने खाताहरुको केवाईसी अपडेट गराए समस्या समाधान हुने तिवारी बताउँछन् । ‘सम्बन्धित व्यक्ति नै उपस्थित भएर केवाईसी भर्नुपर्ने नियम लगाए यस्ता खाता आधा घट्छन्,’ उनी भन्छन्, ‘राष्ट्र बैंक र बोर्ड मिलेर यो काम सजिलै गर्नसक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News