काठमाडौं : पुनर्स्थापित प्रतिनिधि सभा को पहिलो बैठक आइतबार बस्दैछ । पुस ५ गते प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले फागुन ११ गते पुनर्स्थापित गरेपछि पहिलो पटक बैठक बस्न लागेको हो । १३ दिनभित्र बैठक

आह्वानका लागि सर्वोच्चले दिएको आदेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अर्थात् आइतबारका लागि बैठक आह्वान गरेकी हुन् ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयसँगै विभाजित भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिक रुपमा फुट्न नसकेको अवस्थामा हुन लागेको संसद् बैठकलाई रोचक ढंगले हेरिएको छ । आफैले विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापित भएपछि प्रधानमन्त्री ओली स्वयम् नेकपा संसदीय दलको नेताको हैसियतमा बैठकमा उपस्थित हुँदैछन् । नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले भने ओलीलाई संसदीय दलको नेताबाट हटाएको दाबी गरेको छ । केही दिन अगाडि बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बहुमतले प्रचण्डलाई संसदीय दल नेताको जिम्मेवारी दिएको दाबी उनीहरुको छ ।

यसरी एउटै दलका दुई नेता संसद बैठकमा आमने–सामने हुँदा संसद बैठक रोचक बन्दै छ । प्रचण्ड–नेपाल समूहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छन् भने प्रधानमन्त्री ओलीले त्यसको सामना डटेर गर्ने बताइसकेका छन् । यसलेसमेत संसदमा हुने आगामी गतिविधि रोचक हुनेछन् ।

आइतबारको बैठकको कार्यसूची भने फरक छ । संघीय संसदको सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आइतबार दिउँसो ४ बजेपछि हुने बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त संसद् अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् । त्यसपछि सभामुख सापकोटाले नै राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरुको व्यहोरा सुनाउने छन् ।

सम्भावित कार्यसूचीको तेस्रो नम्बरमा सभामुख सापकोटाले नै प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन् । त्यसपछि केही अध्यादेश पेश हुने र शोक प्रस्ताव प्रस्तुत हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News