काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नै विधान उल्लंघनको आरोप लगाएका छन् । पार्टी नेतृत्वले सोधेको १० बुँदे स्पष्टीकरणको जवाफ दिँदै उनले आफूले नभई पार्टी अध्यक्ष ओलीले विधान उल्लंघन गरेको जिकिर

गरेका छन् । अध्यक्ष ओलीलाई सम्बोधन गर्दै नेपालले लेखेको जवाफमा भनिएको छ, ‘तपाईंले गर्नुभएका गतिविधिहरु नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय सातका विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुने भई कारबाही गरिनुपर्ने प्रकृतिका रहेको देखिन्छ ।’अध्यक्षमाथि नै प्रश्न उठाएका उनले यसबारे नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा छलफल हुनुपर्ने माग गरेका छन् । पहिलो प्रश्न : नेता नेपालले अध्यक्ष ओलीमाथि कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाइराख्ने गलत मनसाय राखेको किन नभन्ने भनेर प्रश्न गरेका छन् । २३ फागुनमा गरेको सर्वोच्चको फैसलामा एमाले र माओवादी केन्द्र पुनः मिल्ने भए निर्वाचन आयोगमा जानु र आयोगले पार्टी एक हुने भए १५ दिनभित्र आउनु भनेको स्मरण गर्दै उनले भनेका छन्, ‘केन्द्रीय कमिटीको अध्यक्षको हैसियतले नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक विधिवत् बोलाई तपाईंले छलफल किन गराउनु भएन ?

यसरी नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक नबोलाइएबाट सर्वोच्च अदालतको फैसलाको अवज्ञा हुनुका साथै नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाइराख्ने तपाईंको गलत मनसाय रहेको छ किन नभन्ने ?’दोस्रो प्रश्न : एमाले पुनर्स्थापित भएपछि विगतको समीक्षा गर्दै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ? भनेर प्रश्न गरेका छन् । २ चैतमा पार्टी कार्यालय, धुम्बाराहीमा भएको छलफलमा पार्टी एकीकरणपूर्वको पार्टी तथा जनसंगठनहरुको संरचना स्वीकार गरौं र २८ फागुनमा गरेको बदर गरौं भन्दा अस्वीकार गरेको भन्दै वरिष्ठ नेता नेपालले प्रश्न गरेका छन्, ‘तपाईंमा पार्टी विभाजनको दुराशय रहेको देखियो किन नभन्ने ?’

तेस्रो प्रश्न : अध्यक्ष ओलीले पुनर्स्थापित एमालेलाई एकतावद्ध बनाएर लैजान नखोजेको नेता नेपालको आरोप छ । आफूहरुलाई जानकारी नै नदिई २८ फागुनमा गुट भेला गरेको र पार्टीको विधान र प्रक्रिया विपरीत नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी परिवर्तन गर्ने, पार्टी सदस्य नै नभएका २३ जनालाई केन्द्रीय सदस्य मनोनयन र पार्टी विधानमा संशोधन जस्ता निर्णय गरेको भन्दै नेता नेपालले अध्यक्ष ओलीलाई सोधेका छन्, ‘पार्टी विधानको उल्लंघन गर्दै पार्टी विभाजनको रेखा कोर्ने आपत्तिजनक काम किन गर्नुभयो ?’

त्यो निर्णय पार्टी विधान विपरीत भएकाले आफूहरु निर्वाचन आयोग गएको भन्दै उनले प्रश्न गरेका छन्, ‘पार्टीको विधान संशोधन जस्तो संगठन सञ्चालनको आधारलाई स्वेच्छाचारी किसिमले भत्काउने अधिकार तपाईंले विधानको कुन धाराबाट प्राप्त गर्नुभयो ? पार्टी विधान विपरीत मनपरी किसिमले पार्टी विधानमा संशोधन गरिएको कुरा गर्दै नेकपा (एमाले) का सदस्य नै नरहेका व्यक्तिहरुलाई केन्द्रीय कमिटीको सदस्यको पद रिक्त नै नरहेको अवस्थामा केन्द्रीय कमिटीको सदस्यमा मनोनयन गरिएको भनी तपाईंले कसरी भन्नसक्नुभयो ? यस्तो स्वेच्छाचारी काम गर्दा तपाईंलाई नवौं राष्ट्रिय महाधिवेशनमा गरिएको शपथको सम्झना किन भएन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News