जनकपुरधाम – विवाहको रौनक र उत्साहले धनुषाको नगराइन नगरपालिका–२ जटहीस्थित मुसहरी टोलमा आइतबारको साँझ उल्लासमय थियो। स्थानीय बेचनीदेवी सदाकी छोरी पूजाको विवाहको भव्य तयारी थियो। छिमेकी मुलुक भारतबाट करिब ६० हजार खर्चेर ल्याइएको

पन्डाल, लाइट र लाउडस्पिकरले उल्लास थपेका थिए। स्वयंवर मञ्च र विवाह मण्डप (मडवा) समेत तयार थिए। परिवार, छरछिमेक र आफन्त नयाँ पहिरनमा सजिएर जन्ती कुरिरहेका थिए। घरमा कोही गीत गाउँदै थिए भने कोही नाच्दै थिए।सजिएकी बेहुली पूजा पनि जीवनसाथी पाउने उल्लासले गदगद थिइन्। जन्तीलाई नास्ता खुवाउन मिठाईसहितका परिकार प्याक गरेर राखिएको थियो भने खानाका लागि परिकार पाक्दै थिए। तर यो खुसी टिक्न पाएन। घरपरिवार तथा टोलवासीले राति २ बजेसम्म कुरेर बसे तर जन्ती आएनन्, कारण थियो बिहेअघि नै दाइजोमा मोटरसाइकल नदिनु।

दाइजोको निहुँमा बिहे भाँडिएपछि बेहुलीको घरमा जम्मा भएका आफन्त। तस्बिर:

आइतबार राति करिब १० बजेदेखि नै घरपरिवारले बेहुला र उनका बुवालाई फोन गर्न थाले, २ बजेसम्म पनि कसैको फोन उठेन। अनि आफन्त तथा परिवारको खुसी रुवावासीमा परिणत भयो। बेचनी बेहोस हुन थालिन्, घरिघरि दाँती लाग्न थाल्यो।‘दुई बजेपछि एकपटक फोन उठाएर केटाका बाबुले बिहेअघि मोटरसाइकल नदिएको भन्दै यो विवाह हुन्न भनेर जवाफ फर्काए,’ पूजाकी आमा बेचनीले भनिन्, ‘हामीले जन्तीको स्वागतमा कुनै त्रुटि हुन दिन्नौं भन्यौं। जसरी पनि भोलि गाडी दिइहाल्छौं। जन्ती लिएर आउनुस् भन्यौं, बिलौना ग-यौं तर मानेनन्। फोन काट्दिए अनि उठाउनै छाडे। मोटरसाइकल नपाएको निहुँ बनाएर जन्ती नआएपछि राति नै पूजाका बुवा सुकदेव आफन्त र छिमेकीसहित करिब १३ जनाको समूहमा बेहुलाको घरमै पुगे। घरमा न बेहुला भेटिए न उनका बुवा। दुवैजना लुकेर बसेका थिए।करिब २० दिनअघि पूजाको विवाह धनुषाधाम नगरपालिकास्थित भुतही पटेर्वा बस्ने रोहित सदाका छोरा सुशीलसँग तय भएको थियो। विवाहमा जन्तीलाई भव्य स्वागत गर्ने, २ तोला सुन, फर्निचर र प्लाटिना मोटरसाइकल दाइजो दिने सहमति भएको थियो।

त्यसैअनुरुप धुमधामका साथ सामाजिक परम्पराअनुसार फलदान (इन्गेजमेन्ट) पनि भयो। फलदानमै करिब ५० हजार रुपैयाँ खर्च भएको बेचनीले बताइन्।ज्यालामजदुरी गर्ने पूजाका बुवा सुकदेव सदाले गाउँका विभिन्न व्यक्तिसँग महिनाबारी पाँच प्रतिशत ब्याज दिनेगरी ५ लाख रुपैयाँ कर्जा लिएका थिए। ‘हामी गरिबलाई हतपत कसैले कर्जा दिनै मान्दैनन्। बेंगलोरमा होटेलमा छोरा काम गर्दैछ, उसैले कमाएर तिर्ला भनेर जसोतसो ऋण गरेका थियौं,’ ९ सन्तानकी आमा बेचनीले भनिन्। बिहेका दिनसम्म भएको पैसा खर्च भइसकेपछि दुईचार दिनपछि मोटरसाइकल किनेर दिने योजना बनाएको उनले सुनाइन्। जन्ती नआएपछि राति नै पूजाका बुवा सुकदेव आफन्त र छिमेकीसहित करिब १३ जनाको समूहमा बेहुलाको घरमै पुगे। घरमा न बेहुला भेटिए न उनका बुवा। दुवैजना लुकेर बसेका थिए।

‘वडाध्यक्ष, वडासदस्य सबैलाई रातिमै फोन गरें। त्यहाँका स्थानीय पनि जम्मा भए र बेहुलाको बुवालाई सोधखोज गर्दै जाँदा १ घण्टापछि आए,’ बेहुलाको घर पुगेका जटहीका स्थानीय राकेश चौधरीले घटना सुनाउँदै थपे, ‘सुकदेव नागरिकता र १ लाख रुपैयाँ लिएरै पुग्नुभएको थियो। तत्कालै पैसा दिएर सहमति गरेर केटाको बाबुलाई जन्ती ल्याउन आग्रह ग¥यौं।’ तत्कालै जन्ती ल्याउने सहमति नभए पनि वडाध्यक्ष र स्थानीयको रोहबरमा घरपरिवारसँग छलफल गरी अर्कै मितिमा विवाह गर्ने सम्झौता भयो।पूजाकी आमा बेचनी मंगलबार बिहेभोजका लागि ल्याएको काउली काटेर सुकाउने तयारीमा थिइन्। जन्तीका लागि पकाएको भात सुक्दै थियो। घर सुनसान देखिन्थ्यो। सबै निराश देखिन्थे। घटनाबारे सोध्नसाथ बेचनीको आँखाबाट आँसु छचल्किन थाल्यो।

‘म गरिब बर्बाद भएँ। हामीलाई बदनाम गर्न उनीहरु (बेहुला पक्ष) ले कुनै कसर छोडेनन्,’ उनले भनिन्, ‘५ लाखको क्षति भयो। भोजभात, मिठाई सारा चीज बर्बाद भयो।’ अर्को मितिमा विवाह गर्न दुवै पक्षबीच मौखिक सहमति भएपनि बेहुलापक्षको दाइजो मोह र क्रुर व्यहवारले उनी छोरीको विवाह नगर्ने पक्षमा छिन्। मोटरसाइकलकै कारण विवाह रोकिएपछि त्यस घरमा छोरी सुरक्षित नरहने उनलाई लागेको छ। ‘डर लागिरहेको छ। फेरि पनि केही मागे के गर्ने ? अहिले यस्तो हर्कत देखाइराखेका छन्। भविष्यमा यातना दिए के गर्ने ? यस्ताले छोरीलाई मारदिन पनि सक्छन्,’ उनले गुनासो गरिन्। दाइजोको कारण विवाह गर्न नमानेका केटा पक्षले क्षतिपूर्ति दिनुपर्ने र उनीहरुलाई कारबाही हुनुपर्ने उनको माग छ।

उमेर नपुगेकाले उजुरी गर्न समस्या
बेहुला विवाह गर्न नआएपछि बेहुलीका परिवार स्थानीय नेता र प्रहरीलाई पनि खबर गरेका थिए। दाइजोमा मोटरसाइकल नदिएकाले बेहुला विवाह गर्न नआएको भन्दै बेहुलीका परिवारले आइतबार राति नै जटहीस्थित प्रहरी चौकीमा खबर गरे। तर प्रहरीले बेहुलीको उमेर १८ वर्षमात्र रहेको थाहा पाएपछि सहयोग गर्न इन्कार गरेको स्थानीय राकेश चौधरीले बताए। ‘प्रहरीले सामाजिक सहमतिमै विवाद मिलाउन भन्दै सुझाव दिएर पठाइ दिए,’ उनले भने।
वडाध्यक्षलगायत स्थानीय नेताहरुले बेहुली पक्ष अन्यायमा परेकाले न्याय दिलाउन पहल भइरहेको बताएका छन्। नगराइन नगरपालिकाकी उपप्रमुख रन्जु साहले दाइजोकै कारण विवाह रोकिएर केटी पक्षमाथि अन्याय भएकाले न्यायका लािग पहल गरिरहेको बताइन्।

‘मुसहर र दलित समुदायमा २० वर्ष नपुग्दै पनि विवाह हुँदै आएको छ। यो बिस्तारै कम होला तर मोटरसाइकलै लागि विवाह रोकिनु पनि गैरकानुनी नै हो। सबैको इज्जत छ, यस्तो गर्न पाइँदैन। केटी पक्षलाई न्याय दिलाउन हामी पहल गर्दैछौं,’ उनले भनिन्। कानुनअनुसार २० वर्ष नपुग्दै विवाह गर्न नपाइने भएकाले यो विवाद न्यायिक समितिमार्फत समाधान हुने धनुषाका प्रहरी उपरीक्षक रामेश बस्नेतले बताए। ‘कानुनको अनभिज्ञता कसैलाई क्षम्य छैन। २० वर्ष नपुग्दै विवाह गर्न पाइँदैन। यो समस्याबारे स्थानीय न्यायिक समितिमै छलफल गर्दा हुन्छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News