सौराहा – चीनको वुहान सहरबाट सुरु भएर विश्वका एक सयभन्दा बढी देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखापरेसँगै पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको छ। चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा यतिबेला विदेशी पर्यटकको संख्या शून्य छ।

स्वदेशी पर्यटकको आगमन पनि स्वाट्टै घटेपछि सौराहाका होटल व्यवसायीले कामदारलाई घरबिदामा पठाउन थालेका छन्। क्षेत्रीय होटेल संघ सौराहा, चितवनका अध्यक्ष दिपक भट्टराईले कोरोना भाइरसको त्रासका कारण सिजनको बेला सौराहा सुनसान हुन पुगेको बताए। ‘सिजनमा ६५ प्रतिशत अकुपेन्सी हुने सौराहामा अहिले मुस्किलले १५ प्रतिशत छ,’ उनी भन्छन्, ‘सिजनमा ४० प्रतिशत चिनियाँ, ४० प्रतिशत नेपाली र अन्य देशका २० प्रतिशत पर्यटक आउँथे। अहिले विदेशी पर्यटक छँदै छैनन्।’ पर्यटक नै नआएपछि सौराहाका होटल व्यवसायीले बाध्य भएर आधा कामदारलाई आधा तलब दिने गरी घरबिदामा पठाउन थालेको उनले जानकारी दिए।

विदेशी पर्यटक शून्य भएपछि हाेटेलका कामदारलाई घरबिदा
पर्यटकीय हिसाबले चितवनलाई नेपालको तेस्रो गन्तव्य मानिन्छ। काठमाडौं र पोखरापछिको पर्यटकीय गन्तव्य चितवन आउने आन्तरिक र बाह्य पर्यटकको पहिलो रोजाइ सौराहा नै हो। विश्व सम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहा पर्यापर्यटनका लागि प्रसिद्ध छ। विश्वकै दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा, दुर्लभ पाटेबाघलगायत वन्यजन्तु र यहाँका आदिवासी थारुको जीवनशैली र संस्कृति अवलोकन गर्न पर्यटक सौराहा आउँछन्। रत्ननगर नगरपालिकाको वडा नम्बर ६ मा पर्ने सौराहा यसअघि भारतीय नाकाबन्दी र विनाशकारी भूकम्पले सुनसान बनेको थियो। सौराहामा रहेका एक सय २० भन्दा बढी होटलमा पाँच हजार पाँच सय बेड क्षमता छ।

मुर्झायो मेघौली
सौराहापछिको पर्यटकीय गन्तव्य मेघौलीमा पनि पर्यटक आगमन घटेको छ। विदेशी पर्यटक आउने मेघौली सेराई र बाराही जंगल लजमा कोठाहरु रित्तै छन्। विदेशी पर्यटकको बुकिङ सबै रद्द गरिएका छन्। न्यून संख्यामा नेपाली पर्यटक रात बिताउन आउने गरेका छन्। बाराही जंगल लजका महाप्रबन्धक वरुण कुमार आफूकहाँ नेपाली पर्यटकमात्र रहेको जानकारी दिँदै भन्छन्, ‘७० प्रतिशत विदेशी पर्यटकले बुकिङ रद्द गराएका छन्। ४१ बेडमध्ये पाँच बेडमात्र अकुपाई भएको छ।’ पर्यटक नभए पनि कामदारलाई छुट्टी दिनेबारे अहिले नसोचेको उनी बताउँछन्। ‘दुई–तीन हप्ता अरु हेरौं, के हुन्छ ?’ उनी भन्छन्, ‘त्यसपछि मात्र कामदारलाई के गर्ने भन्नेबारे निर्णय लिन्छौं।’ भरतपुरको चौबीसकोठीबाट २५ किलोमिटर पश्चिममा पर्ने मेघौली क्षेत्रमा रहेका १० होटलमा तीन सय ५५ जना र १० वटा होमस्टेमा ८० जना पर्यटकलाई खाने र बस्ने सुविधा रहेको छ।

चितवनमा पर्यटनको इतिहास
सरकारले २०३० सालमा चितवन राष्ट्रिय निकुञ्ज स्थापना गर्नुपूर्व नै निकुञ्जको जंगल क्षेत्रमा २०२२ सालमा टाइगर माउन्टेन समूहद्वारा सञ्चालित टाइगर टप्स होटेलले विदेशी पर्यटक र स्वदेशी राणा तथा राजघरानाका लागि जंगल सफारी सुरु ग¥यो। वन्यजन्तु पर्यटनको महत्व बुझेका विदेशी नागरिक जिम एडवार्डले निकुञ्ज स्थापनाभन्दा पहिले नै जंगल सफारीसँगै पर्यटनको थालनी गरेका थिए। निकुञ्ज स्थापनापछि स्वदेशी पर्यटन व्यवसायीले सौराहामा विशेषतः स्वदेशी पर्यटकलाई लक्ष्य गरी होटेल र रिसोर्ट खोल्न थाले। सौराहाको पर्यटन र जंगल सफारीबारे जानकारी दिँदै चितवन पार्क फरेस्ट होटलका सञ्चालक गिरिधारी चौधरी भन्छन्, ‘निकुञ्जको स्थापनापछि सौराहामा पूर्वी सेक्टर कार्यालय स्थापना गरी सरकारी तवरबाटै लङ हाउस (पर्यटकले रात बिताउने घर) को व्यवस्था गरी जङ्गल सफारी सुरु भएको हो। विदेशीहरु अहिले पनि परम्परागत शैलीका घरमा बस्न मन पराउँछन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News