बैतडी : जिल्लाको मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रदेव भट्ट यही फागुन २४ गते मृत फेला परे। भट्टको शव फेला परेपछि आफन्तजनलाई पोष्टमार्टमकै चिन्ताले झन् पीडा थपियो। ‘घरपरिवारको अभिभावक

गुमाएको पीडा परिवारका सदस्यहरुमा एकातिर थियो नै। अर्कोतिर शव बोकेर पाटन पुर्‍याउनुपर्ने बाध्यता आइलाग्यो।’मेलौली नगरपालिका-६ का वडा अध्यक्ष परमानन्द भट्टले भने, ‘नजिकैको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा पोष्टमार्टमका लागि शव पाटन पुर्‍याउनुपर्ने बाध्यता छ। २०५६ सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहिन हुँदा हामीलाई धेरै समस्या भएको छ।’ मंगलबार मात्रै मेलौली नगरपालिका-९ असुरकी ८ वर्षीय बालिका सीता लुहारको चितुवाको आक्रमणबाट मृत्यु भयो। चितुवाका कारण छोरी गुमाएको पीडा पदमराम लुहार परिवार छँदै थियो त्यसमा शव पोष्टमार्टम लागि पाटन पुर्‍याउनुपर्ने बाध्यता आइलाग्यो। नजिकैकको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा केही घटनामा मानिसको मृत्यु भएमा शव पोष्ट मार्टमका लागि अन्यत्र लैजानुपर्ने तल्लोसोराडबासीको बाध्यता कायमै छ।

२०५६ सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा अहिलेसम्म डेढ वर्ष मात्रै डाक्टर बसेका छन्। अन्य समयमा प्राथमिक स्वास्थ्य केन्द्र हेल्थ असिष्टेन्टकै भरमा सञ्चालन भइरहेको छ।केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा डाक्टर नहुँदा तल्लोसोराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकले सास्ती भोग्दै आएका छन्। तल्लोसोराड क्षेत्रको एक मात्रै रेफरल सेन्टरको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा उपचारका लागि भारत जानुपर्ने बाध्यता रहि आएको छ।‘संघीयता आएपछि नजिककै प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको पदपूर्ती होला। उपचार सेवामा हाम्रो पनि पहुँच बढ्ला भनेर सोचेका थियौं। तर हामीले अहिले पनि उपचारका लागि भारत जानुपर्ने बाध्यता कायमै रहेको छ।’मेलौली-१ का गणेश पार्कीले भने, ‘संघीयता पछि स्वास्थ्य सेवा झन् कमजोर भएको छ। हाम्रो क्षेत्रमा भएको सेवा पनि डाक्टरको अभावमा पाउन सकेका छैनौं।’

सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली सूचीकृत संस्था पनि हो। सो संस्थामा बीमा गरेका नागरिकले निशुल्क उपचार पाउनुपर्ने हुन्छ। सूचीकृत स्वास्थ्य संस्थामा मेडिकल अधिकृत, आफ्नै फार्मेसी, एक्सरे सेवा, इसिजी सेवालगायत हुनुपर्ने हुन्छ। तर केशरपुर यी कुनै पनि सेवा सुविधा छैनन्। यसले गर्दा स्वास्थ्य बीमा पनि प्रभावकारी भएको छैन्। स्वास्थ्य केन्द्रमा भएका एक्सरे मेसिन, अल्ट्रासाउण्ड मेसिन, इसिजीलगायत काम नलाग्ने अवस्थामा पुगेका छन्। ‘एक्सरे, अल्ट्रासाउण्ड र इसीजीको रिपोट डाक्टरले हेनुपर्ने हुन्छ। तर हाम्रो डाक्टर नहुँदा यी मेसिनहरु पनि प्रयोगविहिन भएका छन्’ हेल्थ असिष्टेन्ट मुकेशकान्त दयालले भने।

स्वास्थ्य बीमा गरेका नागरिक निशुल्क उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्ने गरेको भएपनि जनशक्तिको अभावमा सेवा दिन नसकिएको हेल्थ असिष्टेन्ट दयालले बताए। उनले भने ‘प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा हामीलाई झन् समस्या भएको छ। सेवाग्राहीहरु रिसाएर फर्कने गरेका छन्।’ केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा एकजना मेडिकल अधिकृतसँगै एक जना स्टाफ नर्सको दरबन्दी पनि छ। दुबै दरबन्दी गएको एक वर्षदेखि खाली रहेको छ। स्टाफ नर्स र डाक्टर दुबै नहुँदा सेवाग्राहीलाई समस्या परेको स्थानीय भानी दयालले बताए। उनले भने ‘मेलौलीमा डाक्टर नहुँदा हामी तीन स्थानीय तहका नागरिकलाई समस्या परेको छ। हामीले केही स्वास्थ्य समस्या भएमा भारत अथवा जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News