लन्डन : साबिक विजेता लिभरपुल युरोपियन क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता ‘च्याम्पियन्स लिग’ को उपाधि होडबाट बाहिरिएको छ। स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले बुधबार राति खेलिएको प्रिक्वार्टरफाइनलको

दोस्रो लेग खेलमा लिभरपुललाई ३-२ गोलले हरायो। उक्त नतिजापछि एट्लेटिको म्याड्रिड ४-२ कुल गोल भिन्नताका आधारमा क्वार्टरफाइनलमा पुग्न सफल भयो। यसअघि घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा पनि एट्लेटिको म्याड्रिड १-० गोलले विजयी भएको थियो। लिभरपुल ६ पटकको च्याम्पियन्स लिग विजेता क्लब हो।

एट्लेटिको म्याड्रिडसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) पनि प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। पीएसजीले प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेलमा जर्मन प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई २-० गोलले पराजित गर्‍यो। उक्त नतिजापछि पीएसजी ३-२ कुल गोल भिन्नताका आधारमा क्वार्टरफाइनलमा पुगेको हो।

यसअघि घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा बोरुसिया डर्टमन्ड २-१ गोलले विजयी भएको थियो। एट्लेटिको म्याड्रिड र लिभरपुलबीचको खेलमा निर्धारित समयमा एकमात्र गोल भयो। उक्त गोल लिभरपुलले गरेको थियो। पहिलो हाफको खेल सकिनुभन्दा दुई मिनेटअघि लिभरपुलका लागि जर्जिनियो विजनल्डमले गोल गरेका थिए।

निर्धारित समयको खेलपछि दुबै टोलीको कुल गोल भिन्नता १-१ भयो। त्यसपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News