काठमाडौं : थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टारले एपीएफ क्लबलाई १–० गोलले हरायो। थ्रीस्टारको कठिन जितमा रक्षक अनन्त तामाङ नायक बने। अनन्तले १५औं मिनेटमा हेडमार्फत गोल गरेका थिए।

मिक्छेन तामाङको लामो फ्रिकिक पासमा अनन्तले उत्कृष्ट गोल गरेका थिए। सोही गोल नै थ्रीस्टारका लागि पर्याप्त बन्यो। मध्य भागमा पास र बल प्रोसेसन राम्रो राखेको एपीएफले गोल फर्काउन सकेन। दोस्रो हाफमा राम्रा अवसर बनाएको एपीएफको प्रयासमा थ्रीस्टारका विदेशी गोलरक्षक प्रिसो बाधक बनेका थिए। थ्रीस्टारले पनि थप अवसर गुमाएको थियो। १०औं मिनेटमा थ्रीस्टारका हम्जाता पोस्ट नजिक चुकेका थिए।३०औं कप्तान विक्रम लामाको हेड प्रहार बाहिर हुइँकिएको थियो। लामाले मिक्छेन तामाङको पासमा उत्कृष्ट हेड गरेका थिए। ३६औं मिनेटमा दिपेश घलेले डिबक्स बाहिरबाट हानेको सशक्त प्रहार क्रस बारमा लागेर फर्किएको थियो। दोस्रो हाफमा पनि थ्रीस्टारले उत्तिकै गोलको अवसर बनायो। तर थप गोल गर्न भने सकेन। थ्रीस्टारको जितमा निर्णायक गोल गरेका अनन्त म्यान अफ दी म्याच भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए।

जितसँगै थ्र्रीस्टारले तीन खेलबाट सात अंक बनाएको छ। थ्रीस्टार पहिलो खेलमा जाउलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो खेलमा भने थ्रीस्टारले नेपाल पुलिस क्लबलाई १–० गोलले हराएको थियो। शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबको समान खेलबाट नौ अंक छ। ६ अंकसहित मच्छिन्द्र तेस्रो स्थानमा छ। दोस्रो हार खेपेको एपीएफको एक अंक छ। पहिलो खेलमा मनाङसँग २–० गोलले पराजित भएको एपीएफले दोस्रो खेलमा हिमालयन शेर्पा क्लबलाई १–१ गोलको बराबरीमा रोकेको थियो।

खेलपछि थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले जितले टोलीको योजनामा उत्साह थपेको बताए। ‘आज हामीलाई जित आवश्यक थियो। खेल प्रतिस्पर्धात्मक थियो। लगातार अवसर बनाए पनि थप गोल हुन सकेन। यद्यपि नतिजाबाट खुसी छौं’, मेघराजले भने।एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले जित्नैपर्ने खेलमा खेलाडी डराएर खेल्दा हार खेपेको बताए। ‘हामी आज जित्ने हिसाबले आएका थियौं।

थ्रीस्टार ठूलो क्लब भनेर खेलाडी डराए। टोलीमा नाम चलेका खेलाडी नहुँदा गाह्रो भयो। तयारी राम्रो गरेर आए पनि क्लबको नामसँग खेलाडी डराएजस्तो भए’, राजेन्द्रले भने। थ्रीस्टार र एपीएफको खेलसँगै जारी लिगमा तेस्रो चरणको खेल सकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News