सिन्धुपाल्चोक : जमिन सम्याउने बेलासम्म पनि चौतारा साँगाचोकगढी नगरपालिका–१४, झ्याँडीका मिलन माझीले २८ महिनामा सुन्दर बस्ती निर्माण हुन्छ भन्ने कल्पना गरेका थिएनन्। स्थानीयको सक्रियता र श्वेता श्री फाउन्डेसनको सहजीकरणमा सुन्दर र एकीकृत बस्ती बनेपछि मिलन

दंग छन्।बस्ती निर्माणमा अहोरात्र खटिएका दिनेश माझी पनि कल्पना गरेभन्दा सुन्दर र नमुना बस्ती ठडिएपछि सबै दुःख भुलेको बताउँछन्। पुनर्निर्माण प्राधिकरणको तीन लाख रुपैयाँ अनुदानमा बैंकको ऋण चार लाख रुपैयाँ थपेर घर निर्माण गरेको दिनेशले बताए। ‘सरकारको अनुदान तीन लाख रुपैयाँमा बैंकबाट लिएको ऋण चार लाख थपेर घर बनाएका छौं’, उनले भने, ‘२४ परिवारको ऋणको प्रक्रिया पूरा नभएकाले उनीहरुको भने फाउन्डेसनले पछि फिर्ता गर्ने गरी लगानी गरेको छ।’लक्ष्मी बैंकले सबै परिवारलाई सहुलियत ब्याजमा चार लाख रुपैयाँ ऋण उपलब्ध गराउने भने पनि कागजी प्रक्रिया नमिल्दा २४ परिवारले अझै ऋण पाएका छैनन्।

श्वेता श्री फाउन्डेसनको सहजीकरणमा निर्माण भएको सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी– १४ को माझी बस्ती। तस्बिर : युवराज पुरी।

५३ सीमान्त्कृत माझी परिवारको बसोबास रहेको उक्त बस्तीमा सबै घर निर्माण भइसकेको छ। स्थानीयका अनुसार ४० भन्दा बढी परिवारले गएको दसैं नै नयाँ घरमा मानेका थिए। बाँकी १३ परिवार पनि छिटै नयाँ घरमा सर्ने तयारीमा रहेको मिलनले जानकारी दिए। तीन कोठे एउटै मोडलका घरले बस्ती सुन्दर बनाएको छ। घर बनिसकेपछि बैंकको ऋणले डर लाग्न थालेको सुन्तला माझीको गुनासो छ। घरमा कमाउने मानिस नभएकाले बैंकको ऋण बोझ बन्ने हो कि भन्ने चिन्ता लागे पनि सजिलै घर निर्माण भएकोमा उनी खुसी छिन्।

२०७४ जेठ १५ गते शिलान्यास गरेर निर्माण थालिएको बस्ती पूर्ण रुपमा निर्माण भएपछि बैंकको ऋण तिर्न आयआर्जनको उपाय खोजी गरिने बस्ती निरीक्षणमा आएकी फाउन्डेसनकी अध्यक्ष श्वेता खड्काले बताइन्। स्थानीय उत्पादनसँग जोडेर होमस्टे सञ्चालनको पूर्वाधार तयार गर्दै गरेको खड्काको भनाइ छ। ‘अब म माझी बस्तीको समस्यासँग जोडिइसकेकी छु’, श्वेताले भनिन्, ‘घर बनाइसकेर उहाँहरूलाई जिम्मा लगाउँदै ऋण बोकाएर म पन्छिन मिल्दैन।

उहाँहरूले बैंकको ऋण तिर्न सक्ने बनाउनु पनि मेरो दायित्व हो।’ माझी बस्ती बनाउन आफूले उत्प्रेरकको मात्र काम गरेको उल्लेख गर्दै श्वेताले बस्ती निर्माण माझी समुदाय आफैंले गरेको बताइन्। ‘सहयोग पैसाले होइन भावनाले हुन्छ’, श्वेताले भनिन्, ‘माझी समुदायमा मेरो भूमिका यही हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News