काठमाडौं । सरकारले कित्ताकाट बन्द गरेको छ । तर, नापी कार्यालयका कर्मचारीले प्रतिआना १ लाख लिंदै धमाधम कित्ताकाट गर्दैआएका छन् । घुस असुलेर नापी कार्यालयबाट धमाधम कित्ताकाट गर्ने कार्य भइरहेको छ ।

काठमाडौं उपत्यकाका नापी कार्यालयहरुमा घुस भएपछि कित्ताकाट रोकिंदैन । दररेटअनुसार घुस नबुझाउनेलाई मात्र कित्ताकाट रोक्काको पत्र देखाइन्छ । भनेजति घुस दिनेलाई कित्ताकाट गर्ने क्रम रोकिन सकेको छैन । घटना हो, ललितपुर नापी कार्यालयको ।

नापी कार्यालयका केही कर्मचारी र जग्गा कारोबारीको सेटिङ वडासम्म रहेको छ । ललितपुरको गोदावरी नगरपालिकाको वडा नम्बर २ का अध्यक्ष देवेन्द्रकुमार बस्नेतले प्रतिकित्ता २५ हजार घुस लिएर कृषियोग्य जग्गा होइन भनेर सिफारिस दिने गरेका छन् ।यद्यपि बस्नेतले आफूले घुस खाएर सिफारिस नदिएको बताए ।

वडालाई कृषियोग्य र घडेरीयोग्य जग्गा भनेर छुट्याउने अधिकार छैन । नगरपालिकाका मेयरको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीका प्रतिनिधि, सम्बन्धित नापी कार्यालयका प्रमुख, मालपोत कार्यालयका प्रमुख रहेको विज्ञसहितको समितिले मात्र कृषियोग्य हो कि होइन भनेर छुट्याउन सक्छ ।

तर वडाले गैरकानुनी रुपमा कृषियोग्य होइन, घडेरीयोग्य हो भनेर सिफारिस दिएकै आधारमा नापी कार्यालयले कित्ताकाट गरेको छ ।ललितपुर नापी कार्यालयमा पुराना कर्मचारीहरुले कित्ताकाट खुलेको छैन भनेर धेरै जग्गा प्लटिङका काम रोकिएका थिए ।

तर काजमा सरुवा भएका सर्वेक्षकले प्लटिङवालाहरुसँग घुस लिएर धमाधम कित्ताकाट गर्दै आएको नापी कार्यालयकै पुराना कर्मचारी गुनासो गर्दछन् । नयाँ र भ्रष्टाचार मुद्दामा खर्च गरेर जितेर आएकाहरुले मनपरी र मिल्दै नमिल्ने काम गर्दा पुरानामाथि पनि अख्तियारले निगरानी गर्ने चिन्ता प्रकट गर्दैआएका छन् ।

नापी कार्यालय ललितपुरमा आनाको १ लाखका दरले घुस लिएर कित्ताकाट हुँदै आएको छ । जग्गा व्यवसायीले घुसको रकम पनि जनतासँग असुलेर लिने गरेका छन् । ललितपुर नापी कार्यालयमा काज सरुवा भएका सर्वेक्षक हरि तिवारीले कित्ताकाटमा घुस असुलीको नेतृत्व गर्दै आएका छन् ।

१५ दिन अगाडि मात्र साविक विष्टछापको ३(क) कित्ता नं. ३७६ देखि ४०० सम्म, २४१ देखि २६७ नम्बरका गरी ५७ वटा कित्ताकाट गर्दा ५७ लाख घुस लिएको नापी कार्यालय स्रोत बताउँछ । नापीका अमिन र सर्भेक्षकले कार्यालय जाँदा झोला, टेप, कलम सबै बोक्नुपर्ने हुन्छ ।

तर सर्वेक्षक तिवारी रित्तोहात जाने र अरुलाई काम लगाएर घुस भने आफूले मात्रै लिने गरेका छन् । घुसको डिल पनि उनी आफैं गर्ने गरेका छन् ।प्लटिङवालाले सर्वेक्षक तिवारीसँग मिलेर सँगै जोडिएका सरकारी जग्गासमेत टायल चेकका नाममा घुसाउने गरेका छन् । सरकारी जग्गा नापी गरिदिएबापत तिवारीले अलग घुस लिने गरेका छन् ।

सरकारी जग्गाको चलनचल्तीको मूल्यको आधा आधा माग्ने गरेका छन् ।ललितपुर नापी कार्यालयमा तिवारी काजमा सरुवा भएदेखिका जग्गा नापनक्सा गरेको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झिकाएर छानबिन गर्ने हो भने कित्ताकाट गर्ने क्रममा सरकारी जग्गा घुसाएको फेलापर्ने कार्यालय स्रोत बताउँछ ।

प्लटिङवालाको ५७ वटा कित्ताकाट गरेबापत एकैदिन ५७ लाख घुस लिने तिवारी मनमैजु नापीमा हुँदा घुससहित रंगेहात समातिएका थिए । विशेष अदालतमा प्रभाव पारी सफाइ पाएका उनको अकुत सम्पत्तिमा अख्तियारले छानबिन नगरेकाले उनी रंगेहातमा सफाइ पाएर पुनः ललितपुरमा आएका हुन् ।

लमजुङ घर भएका तिवारी अहिलेसम्म काठमाडौं उपत्यकाका आकर्षक नापी कार्यालयबाहेक कहिल्यै उपत्यकाबाहिर गएका छै्रनन् ।उनले सेवाग्राहीसँग घुस लिएर बालाजुको बोहराटारमा एक रोपनी क्षेत्रफल जग्गामा भव्य महल बनाएका छन् । हाकिमलाई धम्क्याएर सँधै आकर्षक कार्यालयमा सरुवा हुने उनी एक उदाहरण हुन् ।

कित्ताकाट रोक्का भए पनि काठमाडौंका नापी कार्यालयबाट सेटिङमा आनाको १ लाख लिएर धमाधम कित्ताकाट गर्दै आएका सर्वेक्षक (नासु) तहका २०–२५ जना कर्मचारीहरुले एकाध वर्षमा २० औं करोड सम्पत्ति आर्जन गरेका छन् । त्यसको मारमा जग्गा खरिद गर्ने जनसमुदाय पर्दै आएको छ ।

जग्गा कारोबारीले घुसको रकमसमेत जोडेर जग्गा बिक्री गर्ने गरेका छन् । सर्वेक्षक तिवारी पनि २० औं करोडका मालिक भइसकेका छन् । बीचमा अख्तियारले रंगेहात समातेपछि अदालतमा मिलाउन खर्च भएको रकम उठाउन उनी अहिले ललितपुर नापीमा घुस असुली अभियानलाई तीव्रताका साथ अगाडि बढाएका छन् ।

काज सरुवा भएका उनी दरबन्दी कायम गर्न तल्लीन भएर लागेका छन् ।काठमाडौं उपत्यकामा मात्रै कार्यरत यस्ता घुसखोर सर्वेक्षकहरुको सम्पत्ति अख्तियारले छानबिन गर्ने हो भने डरलाग्दो तथ्य फेला पर्ने स्रोत बताउँछ । सर्वेक्षकले कित्ताकाट माथिल्लो तहका कर्मचारीबाट चेकजाँच गराउनुपर्दछ ।

तर कार्यालय प्रमुखलाई थाहै नदिई नापनक्सा गरेर तिवारीले ब्रम्हलुट गर्दै आएको तथ्य अख्तियारले खोजी गर्नुपर्ने माग कर्मचारीहरुको रहेको छ । समाचारका बारेमा तिवारीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।अनलाइन नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News