जनकपुरधाम : सडक विस्तार गर्दा बीचबाट बराबर पर्ने गरी दुवैतिरका जग्गा लिइन्छ। उपमहानगरपालिकाले रामजानकी मन्दिरमाथि भने घोर अन्याय गरेको छ- अर्कातिरका निजी घर जोगाई मन्दिरकै जग्गा मात्र काटेर। अतिक्रमणको चपेटामा परेको प्रसिद्ध यो मन्दिर सरकारी

निकायबाट जोगाउनुको साटो उल्टै अतिक्रिमित भएको छ। त्यसलाई लिएर नागरिक समुदाय आन्दोलित भएको छ। मेयर लालकिशोर साहले पूर्वतर्फ बनाइएका निजी घर नभत्काई जानकी मन्दिरकै मात्र जग्गा कटाउन निर्देशन दिएको कर्मचारीले बताए। एकातिर मात्र काट्दा मन्दिरको ४ धुर १ कनमा जमिन बाटोमा गएको छ। जनकपुरको मुटु मानिने जानकी मन्दिर क्षेत्रमा जग्गाको चलनचल्तीको मोल प्रतिधुर २ करोडभन्दा बढी छ। निजी व्यक्तिबाट ‘प्रलोभनमा परेर’ उपमहानगरले करोडौंको जग्गा मन्दिरतर्फ मात्र प्रयोग गरेको हो।जनकपुरधाम ३ मा पर्ने मन्दिरको सिट नम्बर १३५५÷२४ को कित्ता नम्बर ८ को साविक क्षेत्रफल ३ कठ्ठा १० धुर छ। सडक विस्तारबाट बगैंचाको बीचमा ०.७० मिटर चौडाइ पूर्व-दक्षिण कुनामा ३ मिटर तथा पूर्वउत्तरको कुनामा ४.८८ मिटर कटाइएको हो। जानकी मन्दिर ५ बिघामा फैलिएको छ।

बाटो विस्तारका क्रममा जनकपुरधाम उपमहानगरले रामजानकी मन्दिरतर्फ मात्र जग्गा कटाएको उजुरीपछि केहीअघि नाप–जाँच गर्दै नापी कार्यालयका कर्मचारी । तस्बिर :


‘पूर्वपट्टि रहेका निजी घरतर्फ ८ फिटजति जग्गा लिए मात्र दुवैतर्फ बराबर हुने थियो’, नागरिक समाजका अगुवा मुरली मनोहर मिश्र भन्छन्, ‘तिनलाई जोगाउन मन्दिरको जग्गा अतिक्रमण गरियो।’

नगरपालिकाले मन्दिरको पर्खाल भत्काएर जग्गा काटी नयाँ पर्खाल लगाएको छ। विश्वसम्पदामा सूचीकृत गराउन प्रयास भइरहेको मन्दिर रक्षकबाटै अतिक्रमणमा परेको हो।मन्दिर रहेको वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र साह स्वयं उपमहानगरबाट भएको नापीमा गल्ती गरिएको बताउँछन्। ‘सडक विस्तारका लागि प्रथम चरणकै नापीमा गल्ती गरिएको थियो’, उनले भने, ‘१६ फिटजति मन्दिरको फूलबारी तोडेर त्यहाँका घरधनीलाई जोगाउन योजना बनाइयो। दुवैतिर ८÷८ फिट लिनुपर्थ्यो।’मेयर साह भने बाटोबारे निर्णय गर्ने सर्वाधिकार वडालाई भएको बताउँछन्। ‘जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराउन हामीले सबैभन्दा बढी पहल गरिरहेका छौं। त्यस क्षेत्रमा बाटो विस्तार हुँदा मन्दिरको जग्गा मिच्ने वा अन्य कुनै काम भएकोबारे मलाई जानकारी छैन’, मेयर साहले भने, ‘त्यसमा पनि प्रत्येक वडामा बाटो छुट्याउने जिम्मा सम्बन्धित वडाध्यक्षलाई नै हुन्छ। यो उपमहानगरपालिकासँग सम्बन्धित विषय नै होइन।’नापी कार्यालय पनि मन्दिरको जमिन एकोहोरो मिचाइमा परेको निचोडमा छ। उसले यसमा ३ पटक नापी गरिसकेको छ। र, अतिक्रमणसम्बन्धी चिनो लगाइएको नापी कार्यालय धनुषाका टोली प्रमुख राजेन्द्र साहले बताए। ‘सासिकको नक्सालाई आधार मानेर बाटो छुट्याउनुपर्दा दुवै तर्फबाट आधा÷आधा लिनुपर्छ। पूर्वतर्फका घर तोड्नुपर्छ भनेर जोगाउन मिल्दैन’, उनले भने।जानकी मन्दिरको जग्गा सुनियोजित रूपमा खुम्च्याउने काम भएको भन्दै स्थानीयले विरोध गरेपछि जिल्ला प्रशासनले नापी टोली खटाएको थियो। तेस्रो चरणको नापीका लागि टोली पठाउँदा उपमहानगरपालिकाको ठाडो हस्तक्षेप भयो।

उक्त दिन पुस २१ गते टोलीलाई सहयोग गर्न उपमहानगरपालिकालाई अमिनसहित पठाइदिन पत्राचार गरिएको थियो।तर, नगरप्रमुख साहले कर्मचारी वा अमिन कसैलाई पठाएनन्। यसै विषयलाई लिएर नगरप्रमुख साह र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धर्मनाथ जोशीबीच विवाद भएको थियो। मनमुटाव भएलगत्तै जोशीलाई सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरियो। ‘मैले नापीका लागि अमिन पठाउन पत्र काटेको थिएँ,’ जोशीले त्यसबेला पत्रकारसँग भनेका थिए, ‘त्यो पत्र चलानी पनि भयो। तर, मेयरसाबले अमिन र कर्मचारीलाई गाली गर्दै नापीमा नजान निर्देशन दिनुभयो।’नापी टोलीले साबिकको नक्साबमोजिम जानकी मन्दिरको जग्गा अतिक्रमण भएको आफ्नो प्रतिवेदनमा उल्लेख गरे पनि पूर्वतर्फ निजी सम्पत्ति कति जोगाइएको छ खुलाएको छैन।

मन्दिरको जग्गाका विषयमा थप अनुसन्धान भइरहेको र सत्यतथ्य पत्ता लगाउन नापी टोली फेरि पनि खटाइने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए। ‘सेन्टर लाइनबाट यति जग्गा बाटोमा गयो भनेर देखाइएको छ। तर, पूर्व र उत्तरपट्टि व्यक्ति विशेषको जग्गा के-कति परेको छ वा छैन भन्ने प्रतिवेदनमा छैन’, उनले भने, ‘त्यो स्पष्ट पार्न मैले फेरि पनि नापी कार्यालयका प्रमुखलाई पत्र पठाएको छु।’जानकी मन्दिर प्रदेश २ कै धार्मिक धरोहर भएको हुँदा यसमा अतिक्रमण हुनु चिन्ताको विषय रहेको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव बताउँछन्। यादव भन्छन्, ‘यस विषयमा निष्पक्ष छानबिनका लागि मैले प्रशासनलाई पत्राचार गरिसकेको छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News