पत्रकार डिबी खड्काद्वारा लिखित पुस्तक ‘नियतः रंगिन दुनियाँका रंगहीन दृष्टान्त’ सार्वजनिक भएको छ । अभिनेत्रीत्रय रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवासँगै नेपाल लाइभ डटकमका सम्पादक नारायण अमृत र अमर खड्काले पुस्तक सार्वजनिक गरेका थिए ।

पुस्तक सार्वजनिक कार्यक्रमा बोल्दै खड्काले मनोरञ्जन क्षेत्र पुरुषका लागि रंगिन र रोचक रहे पनि महिलाका लागि कहालीलाग्दो रहेको बताए । ‘ग्ल्यामरको दुनियाँ बाहिरबाट हेर्दा जति चम्किलो छ, भित्रबाट हेर्दा उति नै अँध्यारो,’ लेखक खड्काले भने, ‘यो पुस्तक त्यही अँध्यारो झेल्ने केही प्रतिनिधि महिलाहरूको कथा हो ।’ पत्रकारिताको सिद्धान्तमा बसेर ती घटनाबारे समाचार बनाउँदै आएका उनले पत्रकारितामार्फत समाजमा प्रस्तुत गर्न नमिलेको घटनालाई पुस्तकमार्फत बाहिर ल्याएको पनि बताए । कार्यक्रममा सम्पादक नारायण अमृतले खड्काले मीठो भाषामा फिल्म क्षेत्रको प्रवृत्ति केलाउने प्रयास गरेको बताए । ‘फिल्म क्षेत्रका सफलताका कथा पनि राम्ररी लेखिएका छैनन्,’ उनले भने, ‘यदि लेखिने हो भने सफल हुनुअघि भोग्ने असफलताका कथा पनि आउँथे,’ उनले भने,

‘कमै लेखिएको विषयमा डिबीको कलम चलेको छ र यसले एक खालको सुरुवात गरेको छ ।कार्यक्रममा अभिनेत्रीहरू रेखा, स्वस्तिमा र लक्ष्मीले फिल्म क्षेत्रमा भोगेका तीता–मीठा अनुभव बाँडेका थिए । कार्यक्रमा बोल्दै रेखा थापाले महिला शोषण हरेक क्षेत्रमा रहेको बताउँदै समाजको दोहोरो मापदण्डले झन् समस्या पारेको अनुभव सुनाइन् । ‘हाम्रो समाज फिल्ममा चाहिँ कलाकारलाई छोटो लुगामा हेर्न रुचाउँछ तर आफ्नै छोरीलाई हिरोइन बन्न अनुमति दिँदैन,’ उनको भनाइ थियो । उनले पुस्तकले महिलाका समस्यालाई मात्र समेटेकोमा आगामी दिनमा पुरुषका समस्या समेटिएको पुस्तक पनि पढ्न पाउने अपेक्षा व्यक्त गरिन् । रेखाले भनिन्, ‘महिला पात्रमाथि मात्र केन्द्रित हुँदा पुस्तक पूर्वाग्रही देखिएको छ । फिल्म बनाउने त महिला पात्र पनि छन् । मैले आफैँ पनि कैयौँ हिरो जन्माएको छु । महिला यौनका कारण शोषित होलिन्, तर एउटा पुरुष आगन्तुक कलाकार आर्थिक शोषणमा पनि पर्‍यो होला ।

यहाँ महिला मात्र पीडित छैनन्, पुरुष पनि पीडित छन् । त्यसै गरी अर्की अभिनेत्री स्वस्तिमाले आफूलाई पुस्तक रोचक लागेको बताइन् । ‘खास म किताब पढ्दिनँ,’ उनले भनिन्, ‘तर, ‘नियत’ एकै बसाइमा पढेँ । पुस्तक पढिरहँदा मलाई धन्न मैले यस्तो दुव्र्यवहार भोग्नुपरेन भन्ने लाग्यो । मैले सुरुमै सिरियस मान्छेसँग काम गर्न पाएँ र त्यस्तो दुव्र्यवहार भोग्नुपरेन ।’

अभिनेत्री लक्ष्मीले पुस्तकमा फिल्म क्षेत्रको वास्तविकता उल्लेख गरिएकोमा आफू प्रभावित भएको आशय पोखिन् । ‘उद्योगमा के हुँदो रहेछ भन्ने कुरा खड्काको किताब ‘नियत’ले छर्लङ्ङ पारेको छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News