गोरखा : ठेकेदारले निर्धारित समयभित्र काम नगर्दा गोरखाका ६ पुल अलपत्र परेका छन्। सडक विभागबाट निर्माणधीन दुई तथा गण्डकी प्रदेश अन्तर्गतको पूर्वाधार विकास कार्यालयबाट निर्माणधीन चार पुल अलपत्र भएका हुन्। २०७० सालको असारभित्र निर्माण सम्पन्न गर्ने

गरी २०६८ सालको असारमा सम्झौता गरिएको सोतीखोला पुल अहिलेसम्म जम्मा ४२ प्रतिशत मात्र काम भएको गोरखास्थित सडक योजना कार्यालयले जनाएको छ। ‘दुई करोड ३६ लाखमा सोतीखोला पुल निर्माण गर्न रायमाझी इशान जेभी निर्माण कम्पनीसँग सम्झौता भएको हो’, बारकिलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयका प्रमुख रवीन्द्रलाल दासले भने, ‘एक करोड रुपैयाँ त भुक्तानी भइसकेको छ, तर ठेकेदारले काम नै गरेन।
लामो समयदेखि रोकिएको काम गत वर्षबाट सुरु गरेको र अहिले एकातर्फको जीप तयार गरेको योजना प्रमुख दासले बताए। त्यस्तै कन्काइ, गोरखा जेभीले निर्माण सुरु गरेको अजुवाखोला पुलको अवस्था पनि नाजुक नै छ। २०७४ सालमा सम्झौता भएको पुल अहिलेसम्म ५० प्रतिशत मात्र काम भएको कार्यालयले जनाएको छ।

सोतीखोला पुल र अजुवाखोला पुल संघीय मन्त्रालयअन्तर्गतका हुन्। प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यालय लम्जुङले २०७३ सालमा निर्माण सुरु गरेको १० किलोस्थित दरौंदी खोला पुल पनि अलपत्र नै छ। गोरखा नगरपालिका र पालुङ्टार नगरपालिका जोड्ने सो पुल तीन वर्षमा जम्मा २५ प्रतिशत मात्र प्रगति भएको कार्यालय प्रमुख राम पराजुलीले जानकारी दिए।धनथान एड्भेञ्चर कम्पनी प्रालिले एकातर्फको जग मात्र तयार गरेर राखेको उनले बताए। त्यस्तै गोरखा नगरपालिका र सहिदलखन गाउँपालिका जोड्ने लुँदीखोला पुलको निर्माण अवधि सकिँदा पनि ४० प्रतिशत मात्र काम भएको छ। गत असोजभित्र निर्माण सम्पन्न गर्ने गरी निलगिरी, अधिकारी जेभीले २०७४ सालमा सो पुल निर्माण जिम्मा लिएको थियो।

पालुङ्टार नगरपालिकाको लकामखोला पुल पनि निर्धारित समयसीमाभित्र निर्माण भएको छैन। गत असोजसम्म निर्माण भइसक्नुपर्ने पुल जम्मा ६० प्रतिशत मात्र तयार भएको कार्यालय प्रमुख पराजुलीले बताए। सो पुल निर्माणको ठेक्का पनि अधिकारी निर्माण सेवाले लिएको थियो। गत असोजभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने पालुङ्टार नगरपालिकाको बडहरेखोला पुलको ३० प्रतिशतभन्दा माथि गएको छैन। कार्यालय प्रमुख पराजुलीले भने, ‘अहिलेसम्म जम्मा ३० प्रतिशत मात्र काम भएको छ।’ काम अलपत्र पार्ने सबै ठेकेदारहरुलाई सचेत गराउने काम भइरहेको उनले बताए।

कुनै पुल ठेकेदारको लापरबाहीका कारण र केही निर्माण व्यवसायीलाई पुँजी अभावका कारण संंकटमा परेको प्रमुख दासको भनाइ छ। ‘हातमा पुँजी नै नभएका ठेकेदारहरूले पनि काम थालेर अलपत्र पार्छन्’, उनले भने, ‘कारबाही गरेर मात्र पनि प्रगति हुँदैन। हामीलाई त जसोतसो काम सम्पन्न गर्नुछ। त्यसैले फकाइफुल्याई सम्पर्कमा ल्याउने, काम लगाउने गरेका छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News